विद्येश्वर शिवमन्दिर महेश संन्यास आश्रम एवम् महेश संस्कृत गुरुकुलको परिसरमा अवस्थित छ । विद्याको केन्द्रका रूपमा सञ्चालित गुरुकुलको केन्द्रमा निर्मित यस मन्दिरमा स्थापित भगवान् शिवको विग्रहलाई विद्याका अधिष्ठाताका रूपमा स्वीकार गरी विद्येश्वरका नामले प्रार्थना गरिन्छ । यस मन्दिरको निर्माण ब्रह्मलीन परमपूज्य गुरुवर श्री १००८ डा. स्वामी रामानन्द गिरिजी महाराजको शुभ संकल्पअनुसार धर्मानुरागी भक्तहरूको स्वैच्छिक दान सहयोगबाट वि.सं २०६३ सालमा सम्पन्न भएको हो । नेपाली प्यागोडा शैलीमा निर्मित यस मन्दिरको डिजाइन प्रसिद्ध इन्जिनियर शङ्करनाथ रिमालले गर्नुभएको हो । यस मन्दिरको विधिवत् प्राणप्रतिष्ठा एवम् उद्धाटन वि.सं. २०६३ साल श्रीपञ्चमीका दिन निरञ्जनपीठाधीश्वर आचार्य महामण्डलेश्वर अनन्तश्रीविभूषित स्वामी पुण्यानन्द गिरिजीमहाराजले गर्नुभएको हो । यस मन्दिरमा शिवपाञ्चायन पूजा पद्धतिअनुसार गुरुकुलका बटुकहरूद्वारा नित्य रुद्राभिषेक एवम् पूजा-आरती गरिन्छ । मन्दिरभित्र बीचमा नर्मदेश्वर शिवलिङ्ग, आग्नेय कोणमा सूर्य, नैर्ऋत्यमा गणेश, वायव्य कोणमा देवी र ईशान कोणमा विष्णु भगवान्‌का विग्रहहरू प्रतिष्ठापित छन् । मन्दिरको बाह्य परिसरमा आग्नेय कोणमा कीर्तिमुख भैरव, नैर्ऋत्य कोणमा महावीर हनुमान्, पश्चिमतर्फ शिववाहन नन्दी र १०८ दीपप्रज्वालन पाला, उत्तरमा त्रिशूल र ईशान कोणमा चण्डका विग्रहहरूको प्रतिष्ठा गरिएको छ । मन्दिरको पूर्वी दिशामा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको मूर्ति स्थापना गरिएको छ भने त्यसका साथमा आद्य जगद्गुरु शङ्कराचार्यको मूर्ति स्थापित छ । मन्दिरको उत्तरतर्फ नित्य पूजा, पाठ र प्रार्थनाका निम्ति विशाल प्रार्थनामण्डप निर्मित छ भने, पूर्वतर्फ कलात्मक गुरुमन्दिर एवं नित्य हवनका हुने यज्ञशाला रहेका छन् । यस मन्दिरमा मन्दिरको प्रतिष्ठादिवस श्रीपञ्चमीको अवसरमा भव्यताका साथ उत्सव मनाइन्छ । साथै महाशिवरात्री, बालाचतुर्दशी, श्रावण सोमवार, जनैपूर्णिमा लगायत पर्वहरूमा शास्त्रीय विधिद्वारा विशेष पूजा र आराधना गरिन्छ ।

विद्येश्वर शिवमन्दिरको दैनिकी

प्रातःकालीन

ढोका खुल्ने  ४:३० बजे
रुद्राभिषेक  ५:०० बजे
आरती  ५:४५ बजे
भोग  ९:३० बजे
ढोका बन्द   १०:०० बजे

सायंकालीन

ढोका खुल्ने  ४:०० बजे
पूजा  ५:०० बजे
आरती  ६:०० बजे
नैवेद्य वितरण  ६:३० बजे
विश्राम  ७:३० बजे

नोटः  मन्दिरको समयसारिणी ऋतुअनुसार परिवर्तन हुन्छ ।